रुस्लान थ्रीस्टार क्लब बन्यो तिलोत्तमा गोल्डकप च्याम्पियन

बुटवल (खेलदैनिक) । शुरुवातबाटै दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लबले बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै उपाधि जित्न सफल भयो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न फाइनल भिडन्तको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा आफ्नो प्रभाव जमाएको थ्रीस्टारले ६६ औं मिनटमा गोलको खाता खोलेको थियो । थ्रीस्टारका बिमल घर्ती मगरको क्रस पासलाई क्लियर गर्ने क्रममा पुलिसका कप्तान रबिन श्रेष्ठले आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यस्तै खेलको ७९ औं मिनटमा थ्रीस्टारका कप्तान निराजन खड्काले हेडमार्फत सुन्दर गोल गर्दै पाटने क्लबको जित सुनिश्चित गरेका थिए । निराजन प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी समेत घोषित भए । उनले पुरस्कारस्वरुप एक थान होण्डा कम्पनीको डियो स्कुटी हात पारे ।

प्रतियोगिताको उपाधि विजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ७,७७,७७७ रुपैया हात पार्यो भने उपविजेता बनेको पुलिसले ४,४४,४४४ रुपैयामा चित्त बुझायो । यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा गत फागुन २४ गतेदेखि शुरु प्रतियोगितामा नेपालका शिर्ष दश टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...