मनाङलाई स्तब्ध पार्दै थ्रीस्टार फाइनलमा

बुटवल (खेलदैनिक) । रोमाञ्चक जितका साथ रुस्लान थ्रीस्टार क्लब जारी २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले अर्को दावेदार टोली मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्यो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न दोस्रो सेमिफाइनलमा गोलको अग्रता भने मनाङले लिएको थियो । मनाङका लागि अफ्रिकी खेलाडी फ्लोरेन्टले पहिलो गोल गरे । तर मनाङको त्यो खुशी धेरै बेर रहन सकेन । उता पहिलो गोल खाएको २ मिनट पनि बित्न नपाउँदै २५ औं मिनटमा थ्रीस्टारका लागि बुद्ध चेम्जोङले डिबक्स नजिकैबाट सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ कै ३९ औं मिनटमा थी्रस्टारका कप्तान निराजन खड्काले निर्णायक गोल गरे । मनाङले पनि खेलमा पटक–पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । बिहीबारको खेलमा थ्रीस्टारका बुद्ध चेम्जोङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनलमा अब थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्ने छ । पुलिस बुधबार मात्र आयोजक लाली रुपन्देही–११ लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

नेपालभरिका शिर्ष १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते हुनेछ । यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...