आयोजकको चुनौति समाप्त पार्दै पुलिस फाइनलमा

बुटवल (खेलदैनिक) । बिभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले घरेलु टोली लाली रुपन्देही–११ लाई सडेन डेथमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न निकै पतिस्पर्धात्मक खेल नियमित समयतर्फ गोलरहित बराबरीमा सकिएको थियो । रुपन्देहीले पटक–पटक पाएको सुन्दर गोलको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

रुपन्देहीबाट मैदानमा उत्रिएका पुर्वेली स्टार कर्ण लिम्बु तथा अन्य खेलाडीले खेलमा केही सुन्दर गोलको प्रयास गरे तापनि ती सबै प्रयास पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट रुपमा बचाउ गरेका थिए । टाईब्रेकरमा रुपन्देहीका लागि मनिष घले, छिरिङ गुरुङ र निशान लिम्बुले गोल गरे भने अशोक थापा, विश्व अधिकारी र कर्ण लिम्बुको प्रहार गोलमा परिणत हुन सकेन ।

उता पुलिसका लागि सुमन लामा, रेजिन सुब्बा, निर कुमार राई र भोला सिलवालले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए भने दिनेश राजवंशी र अजित भण्डारीको प्रहार गोलमा परिणत हुन सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका गोलरक्षक रोशन खड्का म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल दुई दावेदार टोली लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच हुने प्रतियोगिताका खेल संयोजक लोक पुनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...