मोहन बगानले गर्यो बिमलसँगको अनुबन्ध समाप्त

काठमाडौं (खेलदैनिक) । चर्चित आई लिग क्लब मोहन बगान एथलेटिक क्लबले नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरसँगको अनुबन्ध समाप्त गरेको छ । मोहन बगानले बिमललाई शनिबार नै अनुबन्ध फुकुवा गरेको पुष्टी गरेको छ ।

क्लबले बिमललाई गत जनवरी २७ तारीखका दिन मात्र तीन महिनाका लागि अनुबन्ध गरेको थियो । यद्यपी क्लबले बिमलसँगको अनुबन्ध ४५ दिन मै टुंग्याएको छ । क्लबका अफिसियल देबाशिष दत्ताका अनुसार मोहन बगानले सुपर कपमा सहभागिता जनाउन गईरहेको र त्यसका लागि १९ मार्च देखि अभ्यास समेत शुरु गर्न गईरहेको बताए ।

साथै क्लबले एक बिदेशी सेन्ट्रल डिफेन्डरलाई क्लबमा ल्याउने निर्णय गरेको समेत बताए । दुई एसियन खेलाडीहरुलाई मैदानमा उतार्न नपाउने प्रावधानअनुसार नै क्लबले बिमल सँगको अनुबन्ध फुकुवा गरेको खबर चर्चित नेपाली फुटबल वेबसाईट गोलनेपाल डटकमले जनाएको छ ।

आफ्नो पदबाट समेत राजिनामा दिएका दत्ताले क्लबमा अबको निर्णय र भूमिका प्रशिक्षक तथा खेलाडीहरुमा रहेको समेत बताए । मोहन बगानले सुपर कपतर्फ आफ्नो पहिलो खेल आउँदो अप्रिल १ तारीखका दिन क्वालीफायर एकतर्फ दिल्ली डाईनामो र चर्चिल ब्रदर्शबीचको बिजेतासँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...