कठिन जितका साथ थ्रीस्टार सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । कठिन जितका साथ दावेदार मानिएको रुस्लान थ्रीस्टार क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा थ्रीस्टारले फ्रेण्डस क्लबलाई टाईब्रेकरमा ४–३ ले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा नियमित समयतर्फ दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको पाँचौं मिनटमै जोनल ग्लोरीले गोल गर्दै फ्रेण्डसलाई शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनटमै अजयी मार्टिन्सले थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए ।

त्यस्तै थ्रीस्टारका सुसन श्रेष्ठले ४९ औं मिनटमा गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर ८७ औं मिनटमा सिला सोलामानेले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेल संयोजक लोक पुनले जानकारी दिए ।

नेपालभरिका शिर्ष १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते हुनेछ । यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...