शानदार जितका साथ आयोजक रुपन्देही सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । आयोजक लाली रुपन्देही–११ बुटवलमा जारी प्रतिष्ठित २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार एन्फा टेक्निकल सेन्टर बुटवलमा सम्पन्न पहिलो क्वाटरफाइनलमा रुपन्देहीले नवलपरासी–११ लाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

रुपन्देहीको जितमा अशोक थापाले दुई गोल गरे । पहिलो हाफको २३ औं मिनटमा अशोक थापाले घरेलु टोलीका लागि पहिलो गोल गरे । पहिलो हाफसम्म १–० अग्रता कायम गरेको रुपन्देहीले दोस्रो हाफमा गोल खान पुगेको थियो । नवलपरासीका लागि अफ्रिकी खेलाडी कोलीले ६५ औं मिनटमा फ्रिकिकबाट गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए ।

तर नवलपरासीको त्यो खुशी धेरै बेर रहन सकेन । नवलपरासीका युवराज चापागाईंले विपक्षी रुपन्देहीका खेलाडीलाई डिबक्सभित्र फाउल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ८३ औं मिनटमा निशान लिम्बुले गोलमा परिणत गर्दै आयोजकलाई दोस्रोपटक अग्रता दिलाए । त्यस्तै खेल सकिन २ मिनट बाँकी रहँदा इन्जुरी समयमा रुपन्देहीका लागि अशोक थापाले नै डिबक्स नजिकैबाट टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजक टोलीलाई शानदार दिलाए ।

शनिबारको खेलमा आयोजक रुपन्देहीका गौरव बुढाथोकी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो सेमिफाइनल खेल दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने प्रतियोगिताका खेल संयोजक लोक पुनले जानकारी दिए ।

नेपालभरिका शिर्ष १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते हुनेछ । यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...