आर्मी फाइनलमा, मनाङविरुद्ध नवयुग निर्णायक

बिर्तामोड (खेलदैनिक) । खेल शुरु भएको पहिलो मिनटमै स्टार फरवार्ड नवयुग श्रेष्ठले एक मात्र निर्णायक गोल गरेपछि त्रिभुवन आर्मी क्लब जारी रमपम तेस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्ता बजारस्थित डोमालाल राजवंशी खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आर्मीले अर्को दावेदार टोली मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनलमा आयोजक झापा–११ सँगको भिडन्त पक्का गर्यो ।

शनिबारको खेलमा आर्मीका गोलरक्षक विकेश कुथु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल सोमबार आयोजक रमपम झापा–११ र आर्मीबीच हुनेछ । झापाले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा रुस्लान थ्रीस्टार क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...