इण्डो–नेपाल भेट्रान फुटबलको तयारी पूरा

काँकरभिट्टा (खेलदैनिक) । यहि फागुन २६ गते शनिबारदेखि सुरु हुने इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

(तस्विर गुगल)

काँकरभिट्टा माविको मैदानमा हुने प्रतियोगितामा भारतका पाँच टोलीसहित कुल १५ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको हो । भेट्रान फुटबलमा नेपालकै सर्वाधिक राशि १ लाख २५ हजार राखिएको प्रतियोगितामा दार्जीलिङबाट २, कालिम्पोङ, सिलिगुडी र डुवर्सबाट १–१ टिम आउने आयोजकका महासचिव सुन्दर बस्नेतले बताए । त्यस्तै, झापा, मोरङ र सुनसरीबाट बाँकी १० टिमको सहभागिता हुनेछ ।

३५–३५ मिनेटको खेलमा चार जना ३८ वर्ष र बाँकी ४० वर्षका खेलाडी हुनुपर्ने नियम बनाइएको क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए । ज्येष्ठ खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा म्यान अफ दी म्याचलाई नगद २१ सय राखिएको छ भने सर्वाधिक गोलकर्ता, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र प्रतियोगिताकै उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

‘हामीले टिमलाई म्याच मनिको पनि व्यवस्था गरेका छौँ, यो विल्कुलै नौलो प्रयोग हो’, अध्यक्ष गुरुङले भने, ‘क्लबलाई भार नपरोस् र भेट्रानलाई व्यावसायिक बनाउने प्रयास हो ।’ उनका अनुसार झापा जिल्लालाई ५ हजार र बाहिरका टिमलाई दैनिक ७ हजार दिइने भएको छ ।

चैत ६ गते फाइनल खेल हुने प्रतियोगितामा विभिन्न टिमबाट नेपालका पूर्व राष्ट्रिय फुटबलरले पनि सहभागिता जनाउने बताइएको छ । ८ लाख ८४ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय दुर्गा राई र शरदचन्द्र राईको परिवारले र दोस्रो पुरस्कार ५१ हजार अठोट नेपालकी अध्यक्ष पुष्पा गुरुङले प्रायोजन गर्ने भएकी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...