जर्ज प्रिन्सको निर्णायक गोलसँगै आर्मी सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । दावेदार मानिएको त्रिभुवन आर्मी क्लब झापामा जारी जारी रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलतर्फ आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

बिर्ता बजारस्थित डोमालाल राजवंशी खेल मैदानमा सम्पन्न खेलमा आर्मीका लागि खेलको ४३ औं मिनटमा फ्रिकिकमार्फत जर्ज प्रिन्स कार्कीले एक मात्र निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक रमपम झापा–११ र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...