प्रतिष्ठित तिलोतमा गोल्डकप शुरु, आयोजकको बिजयी शुरुवात

बुटवल (खेलदैनिक) । नेपालकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता मध्ये एक तिलोतमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २० औं संस्करण बिहीबारदेखि शुरु भएको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न उदघाटन खेलमा आयोजक लाली रुपन्देही–११ ले सुदुरपश्चिम–११ लाई २–० ले हराउँदै बिजयी शुरुवात गर्यो ।

रुपन्देहीको जितमा निशान लिम्बु एक्लैले दुई गोल गरे । लिम्बुले पहिलो गोल खेलको ८ औं मिनटमा गरे भने दोस्रो गोल खेलको ८७ औं मिनटमा गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । निशान लिम्बुलाई प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले नगद ११ हजारसहित पुरस्कृत गरे ।

जितसँगै रुपन्देही क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल कास्की–११ र फ्रेण्डस क्लब, काठमाडौंबीच हुने जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिए । यसअघि प्रतियोगिताको उदघाटन एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले गरे ।

नेपालभरिका शिर्ष १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र ३ गते हुनेछ । यशोदा फुड्स प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७,७७,७७७ रुपैया हात पार्नेछ भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...