मेयर कपमा ८ र १६ नम्बर वडाको जित

हेटौडा (खेलदैनिक) । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा ८ नम्बर वडा र १६ नम्बर वडा विजयी भएको छ ।

पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ ले पराजित गर्यो भने दोस्रो खेलमा १६ नम्बरले १३ नम्बर वडाको पदमपोखरी फुटबल टिमलाई टाईब्रेकरमा ४–३ ले हराएको हो । ८ नम्बरको लागि अस्मिर वाईबा र सुमन थापाले दुई–दुईग गोल गरे ।

पराजित वडा नम्बर १७ का लागि अर्जुन राई र महेश गोङ्बाले एक–एक गोल फर्काए । खेलको म्यान अफ दी म्याच भएका ८ नम्बर वडाका अस्मिर वाईबाले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

१६ र १३ नम्बर वडाको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरको माध्यमबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले १६ नम्बर वडा विजयी भयो । १६ नम्बरका गगन शिलवाल, विश्वास सापकोटा, किरण चौलागाइँ र अजय सापकोटाको प्रहार गोल भएको थियो भने सुमन श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

यता पदमपोखरीको तर्फबाट रबि थिङ, विशाल थिङ र कमल गौतमको प्रहार मात्र गोल भयो । श्रीलाल स्याङ्तानको प्रहार आकाशिँदा नरेन्द्र गोलेको प्रहार १६ नम्बर वडाका गोलरक्षकले रोकेका थिए । खेलको म्यान अफ दी म्याच भएका १६ नम्बरका डिफेण्डर गगन शिलवालले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबार २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...