मेयर कप फुटबलमा १२ र ११ वडालाई सफलता

हेटौडा (खेलदैनिक) । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा १२ नम्बर वडा र ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिम विजयी भएको छ ।

हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा सम्पन्न पहिलो खेलमा ५ नम्बर वडाको रुद्रेश्वर फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै १२ नम्बर वडा विजयी भएको हो । खेलमा १२ नम्बर वडाको जितमा अशोक घलानले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो गोल सुरज पाख्रिनले गरेका थिए । 

उता पराजित रुद्रेश्वरका लागि एन्जल महर्जनले गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दी म्याच भएका १२ नम्बरका गोलरक्षक सुचन लोप्चनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा १४ नम्बर वडाको चुरेकालिका टिमलाई १–० गोल अन्तरले हराउँदै ११ नम्बर वडाको सहीद स्मारक टिम अघिल्लो चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ४८ औं मिनेटमा शहिद स्मारकका ल ागि अजय क्षेत्रीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच सहीद स्मारक टिमका गोलकर्ता अजय क्षेत्री नै घोषित भए । उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

२९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...