तेस्रो मेयर कपमा डिफेन्डिङ च्याम्पियनको हार

हेटौडा (खेलदैनिक) । हेटौंडामा शनिबारदेखि सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन ७ नम्बर वडालाई हराउँदै पहिलो संस्करणको विजेता १ नम्बर वडाले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर १ ले बिजयी शुरुवात गरेको हो । ७ नम्बर फुटबल टिमले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नुपरेको हो । खेलको १६ औं मिनेटमा भुवन बुढाथोकीको पासमा अनिल थापाले ७ नम्बरको लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको २३ औं मिनेटमा ७ नम्बरका किरण गुरुङले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । ५२ औं मिनेटमा वडा नम्बर १ का लागि सुमन लामाले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ दी म्याच वडा नम्बर १ का कृष्ण लामा भए । उनलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । जारी प्रतियोगितामा आईतबार पहिलो खेल १० नम्बर वडा र १५ नम्बर वडाको बीचमा हुनेछ भने दोस्रो खेल ३ नम्बर र १८ नम्बर वडाको बीचमा हुने आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले गरेका हुन् । उद्घाटनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरे, हेटौंडा उपमहानगरपालिकाका भीम तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा उद्घाटन भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...