थ्रीस्टारलाई स्तब्ध पार्दै एपिएफ बन्यो च्याम्पियन

उपाधिसहित एपिएफका खेलाडीहरु । (तस्विर कायाकरन)

चितवन (खेलदैनिक) । चितवनमा सम्पन्न १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्न सफल भएको छ ।

शनिबार क्याम्पाचौरमा भएको फाइनल खेलमा एपिएफले दावेदार मानिएको रुस्लान थ्रीस्टारलाई १–० गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । एपिएफको जितमा खेलको चौथो मिनेटमै विकु लामाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोल गरेका विकु लामा नै म्यान अफ द फाइनल घोषित भए ।

बिजेता बनेको एपिएफले उपाधिसँगै नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको थ्रीस्टारले २ लाख ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका एपीएफका रमेश दंगाल घोषित भए । उनले नगद ५० हजार प्राप्त गरे । फेयर प्लेको उपाधि नारायणगढ एफसीले जित्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...