तेस्रो झापा गोल्डकप शुरु; झापा ११ क्वार्टर फाइनलमा प्रवेश

(बिर्तामोड, खेल दैनिक ) रमपम झापा गोल्डकपको तेस्रो संस्करण आजबाट शुरु भएको छ ।  उद्घाटन खेलमा आयोजक रमपम झापाले सूदूरपश्चिम बिरुद्व गोलको वर्षा गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

विर्ता बजारस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलमा झापा ११ ले सुदुरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

खेलको छैटौ मिनेटमा झापा ११ का डिफेन्डर देबेन्द्र तामाङले पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिवाउन्स भएको बलले देबेन्द्रको प्रहारमा जाली चुमेको थियो । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदुरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर आत्माघाती भएको थियो ।

३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले व्यक्तिगत गोल गर्दै अग्रता तेब्वर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का खमिर गिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । भुषण सुब्बाको पासमा कन्दङ्वाले जाली चुमाए ।

खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाई दिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले उत्कृष्ट ढंगले गोल गरेका थिए ।

खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डी एरिया नजिकबाट गरेको फ्रि किक प्रहार सुदुरपश्चिमका गोल रक्षक जीवन भट्टराईले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा खमिरगिल्सन कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले मिलाई दिएको क्रस पासलाई स्ट्राइकर कर्ण लिम्वूले सदुपयोग गर्न सकेनन् । सुदुरपश्चिमका गोलरक्षक विट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्वूले गोललाई जाली चुमाउन असफल भए ।

मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्वल गरी १० वटा टिमको सहभागिता रहेको छ ।

खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वू घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

आइतवारको खेल नेपाल पुलिस क्लव र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताए । उनले खेलकुद महाविद्यालय बनाइने योजना सुनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...