काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप एक बर्षका लागि आफ्नो अनुबन्ध नवीकरण गरेका राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतुकु कोजीले आफ्नो अबको लक्ष्य साफ च्याम्पियनसिप जित्नु रहेको बताएका छन् ।
बुधबार मात्र एन्फासँग आफ्नो अनुबन्ध नवीकरण गरेको खुलाएका प्रशिक्षक कोजीले यहि आउँदो सेप्टेम्बरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन गईरहेको साफ च्याम्पियनसिप २०१८ को उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।
जापानी राजदुतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रशिक्षक कोजीले भने “हाम्रो लक्ष्य साफ च्याम्पियन जित्नु हो । हामीलाई थप सिक्नु छ र कडा मिहिनेत गर्नुछ ।” साथै कोजीले जापानी राजदुतावास र एन्फाले नेपाली फुटबलका लागि धेरै गरेको बताउँदै खुशी समेत व्यक्त गरे ।
कोजीले आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा नेपाललाई सन् २०१६ मा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जिताएका थिए ।