दुई विभागीय टोलीको फाइनल भिडन्त आज

हेटौडा (खेलदैनिक) । हेटौडामा जारी तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा दिनको २ बजेदेखि शुरु हुने आजको फाइनल भिडन्तमा दुवै टोली उपाधि भिडन्तका लागि तयार छन् ।

यस सिजन छैटौं उपाधि जित्ने अभियानमा रहेको आर्मीका प्रशिक्षक न्यौपाने भन्छन् “हामी फाइनल भिडन्तका लागि तयार छौं । यो भिडन्त पक्कै पनि प्रर्तिस्पर्धात्मक हुनेछ । हामी आफ्नै शैलीमा फुटबल खेल्ने छौं र उपाधि जित्ने छौं ।”

उता सिजनको तेस्रो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन लागेको पुलिसका प्रशिक्षक अनन्त राज थापा भन्छन् “हामी कुन टोलीको विरुद्ध खेल्दैछौं, त्योसँग हामीलाई सरोकार छैन । हाम्रो टिम वर्क छ । हामी सुन्दर फुटबल खेल्न चाहन्छौं । टिम वर्क भयो भने उपाधि जित्न कठिन छैन । हामी उपाधिका लागि भिड्ने छौं ।”

फाइनल प्रवेश गर्ने क्रममा आर्मीले आफ्नो पहिलो खेलमा सुदुरपश्चिमलाई हराएको थियो भने सेमिफाइनलमा बलियो मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको थियो । त्यस्तै पुलिसले आफ्नो पहिलो खेलमा घरेलु टोली बिजय युथलाई हराएको थियो भने सेमिफाइनलमा सिएमजी संकटा क्लबलाई पराजित गरेको थियो ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ । उपविजेताले त्यसको आधा रकम प्राप्त गर्नेछ । प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...