जर्ज प्रिन्सको निर्णायक गोलसँगै आर्मी फाइनलमा

हेटौडा (खेलदैनिक) । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीले खेलको अन्तिम मिनटमा गोल गरेपछि त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा सम्पन्न मंगलबारको खेलमा आर्मीले बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । खेल सकिन एक मिनट मात्र बाँकी छँदा खेलको ८९ औं मिनटमा जर्जले आर्मीका लागि एक मात्र निर्णायक गोल गरे ।

खेलमा आर्मीका डिफेन्डर बिमल पाण्डे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...