थ्रीस्टारविरुद्ध कर्ण निर्णायक, संकटा सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । पूर्वेली स्टार कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरेपछि सिएमजी संकटा क्लब तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा सम्पन्न मंगलबारको खेलमा संकटाले दावेदार रुस्लान थ्रीस्टार क्लबलाई १–० ले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो ।

प्रतिस्र्धात्मक खेलको अन्तिमतिर ८३ औं मिनटमा कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलमा निर्णायक गोल गरेका कर्ण म्यान अफ द म्याच समेत घोषित भए । संकटाले अब सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल दुई दावेदार टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...