संघर्षपूर्ण जितका साथ आर्मी सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले संघर्षपूर्ण जित हात पार्दै तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडास्थित कृषि तथा बन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा सम्पन्न सोमबारको खेलमा आर्मीले सुदुरपश्चिम–११ लाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

यस अघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ खेलको ६८ औं मिनटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८३ औं मिनटमा सुदुरपश्चिमका बिनोद केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

सोमबारको खेलमा आर्मीका गोलरक्षक विकेश कुथु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको खेल रुस्लान थ्रीस्टार क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...