बिकास रनिङ शिल्ड फागुन ८ देखी, बिजेतालाई ५ लाख !

चितवन (खेलदैनिक) । १३ औं संस्करणको टुबोर्ग बिकास रनिङ शिल्ड अन्तरर्राष्ट्रिय फुटबल प्रतियोगिता फाल्गुन ८ गते देखी १९ गते सम्म नारायणगढको क्याम्पा चौरमा हुने भएको छ । शनिबार क्याम्पा चौरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराइएको हो ।

प्रतियोगिताको पुर्वप्रधानमन्त्री एवम माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नुहुनेछ । यस अघी पौष १९ गते देखी माघ १ गते सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरी तयारी तिव्र पारीएको थियो । तर सोही समयमा सुदुरपश्चिम खप्तड गोल्ड कप प्रतियोगिता पनि आयोजना भएकोले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालका ख्याती प्राप्त ए डिभिजन क्लबहरु, बिभागीय टिम र बिदेशी टिम गरी कुल १२ टोलीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, सिएमजी संकटा क्लब, फ्रेण्ड्स क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र त्रिभुवन आर्मी क्लबको सहभागीता रहनेछ ।

यस्तै बिजय क्लब, नारायणगढ फुटबल क्लब, भरतपुर फुटबल क्लब, सुदुरपश्चिम क्लब गरी ११ नेपाली टिम तथ भारतको सिक्किम ब्वाईज गरी कुल १२ टोलीको सहभागीता रहनेछ । सहभागी १२ टिमलाई २ समुहमा बिभाजन गरिएको छ । समूह ए मा आर्मी, एपिएफ, मनाङ, सुदुर पश्चिम, भरतपुर फुटबल क्लब र बिजय युथ क्लब रहेका छन भने समूह बी मा साविक बिजेता संकटा, नेपाल पुलिस, थ्रीस्टार, फ्रेण्ड्स क्लब, नारायणगढ फुटबल क्लब र भारतको सिक्किम ब्वाईज रहेका छन ।

२०३१ साल देखी सञ्चालन हुँदै आईरहेको प्रतिगितामा यस पटक पुरस्कार राशी पनि बढाइएको छ । यस अघी १२ औंै संस्करणमा बिजेतालाई ३ लाख तथा उपबिजेता १ लाख ५० हजार रुपैया पुरस्कार राशी राखिएको थियो । यसपटक भने बिजेताले नगद ५ लाख सहित शिल्ड मेडल तथा प्रमाणपत्र तथा उपबिजेताले २ लाख ५० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा फेयर प्ले खेल्ने टिमलाई नगद २५ हजार पुरस्कार राशीको व्यवस्था गरिएको छ । यस्तै प्रि क्वाटर फाइनल र क्वाटर फाइनल खेल जित्ने प्रत्यक टिमले म्याच बोनस् स्वरुप १० हजार प्राप्त गर्नेछन भने प्रत्यक दिन खेलाडी,प्रशिक्षक र टिम म्यानेजरले दैनिक १ हजार रुपैया भत्ता प्राप्त गर्ने प्रचार–प्रसार समितिका संयोजक मञ्जुल प्रधानले बताउनु भयो ।

प्रतियोगिताको खेलहरु हेर्नको लागि प्याराफिटको समेत व्यवस्था गरिएको प्रधानले बताउनु भयो । खेल हेर्नको लागि ५० देखी ३०० सम्मको टिकेटको व्यवस्था गरिएको छ । प्रिक्वाटरफाइनलका खेलहरु हेर्नको लागि सामान्यतर्फ ५० तथा प्याराफिटतर्फ १५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।

त्यस्तै क्वाटरफाइनल चरणको खेल हेर्नको लागि प्याराफिट तर्फ २०० तथा सामान्य तर्फ १०० रुपैयाको टिकटको व्यवस्था गरिएको छ भने सेमीफाइनल तथा फाइनल खेल हेर्नको लागि सामान्य तर्फ २०० तथा प्याराफिट तर्फ ३०० रुपैयाको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख ५४ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता प्रत्यक्ष तथा एंव अप्रत्यक्ष गरी करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...