देशभक्तलाई नवयुवा कपको उपाधि

भैरहवा (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासीले आठौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । ओमसतिया–२, कर्मडाँडा फुटबल मैदानमा शनिबार सम्पन्न फाइनलमा देशभक्तले आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई टाईब्रेकरमा ३–१ ले हराउँदै उपाधि जितेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा पहिलो हाफको पाँचौं मिनटमै नबिन महतोले देशभक्तका लागि शुरुवाती गोल गरेका थिए । तर खेलको अन्तिमतिर ८४ औं मिनटमा आयोजकका लागि रमेश थापाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको बिजेता बनेको देशभक्तले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता बनेको आयोजक नवयुवाले १ लाखमा चित्त बुझाएको छ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा गत माघ १८ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...