उपाधिका लागि आर्मीले थ्रीस्टारको सामना गर्ने

बारा (खेलदैनिक) । सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले बिरंगज युनाइटेडविरुद्ध ३–० को एकतर्फी जित हात पार्दै थ्रीस्टारसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

सिमरा मैदानमा सम्पन्न खेलमा आर्मीका लागि दिनेश हेन्जन र दिप लामाले एक–एक गोल गरे । त्यस्तै थप एक गोल भने बिरगंजका बिष्णु सुनारले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । बिहीबारको खेलमा आर्मीका दिनेश हेन्जन म्यान अफ द म्याच घोषित भए ।

अब उपाधिका लागि आर्मीले फागुन ५ गते शनिबार थ्रीस्टारको सामना गर्नेछ । थ्रीस्टारले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा मोरङ–११ लाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...