एन्फा अध्यक्षमा शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं (खेलदैनिक) । एन्फाका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । आगामी चैत १४ गते हुने केन्द्रिय एन्फाको कार्यसमितिको चुनावका लागि शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहेका शेर्पाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा उल्लेख्य संख्यामा एन्फा पदाधिकारी, जिल्ला संघका प्रतिनिधि तथा ए, बी र सी डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

त्यस्तै अध्यक्ष पदका लागि नै आफ्नो उम्मेदवारी घोषणा गरेका एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधर तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक तथा खेलाडी कृष्ण थापाले पनि शेर्पालाई समर्थन गरेका छन् ।

शेर्पा एक वर्षअघि भएको अध्यक्ष पदको निर्वाचनमा नरेन्द्र श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए । शेर्पालाई विभिन्न फुटबल जिल्ला फुटबल संघ र क्लबको समर्थन समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...