कपिलवस्तुलाई हराउँदै आयोजक सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । आयोजक हिमालय सामुदायिक विकास केन्द्र रुपन्देहीमा जारी नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार कञ्चन–४, दियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा आयोजक हिमालयले युनाइटेड कपिलवस्तुलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

हिमालयको जितमा रितेश मल्लले एक मात्र निर्णायक गोल गरे । बुधबारको खेलमा आयोजकका निर्णायक गोलकर्ता मल्ल नै खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको तेस्रो क्वाटरफाइनल खेल चाँदनी युवा क्लब र वाणगंगा वेलफेयर सोसाईटीबीच हुने खेल संयोजक देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोबजारको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । रुपन्देही, कपिलवस्तु नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...