राष्ट्रिय जागृति उपाधि नजिक

दमक (खेलदैनिक) । इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब झापाको कमल गाउँपालिकामा जारी प्रादेशिकस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जागृतिले पाँचथरको सयपत्री फुटबल क्लबलाई ३–१ गोलले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो । राष्ट्रिय खेलाडीको सहभागिता रहेको जागृतिले खेल अवधिभर विपक्षीलाई दबाबमा राखेको थियो ।

खेलको सुरुवातमा सयपत्रीका उमेश राईले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफपछि सयपत्रीले लय गुमाउँदा जागृति हाबी बन्यो । दोस्रो हाफको सुरुवातमै इटहरीले गोल गर्दै बराबरी गर्न सफल भयो । खेलको ५०औं मिनेटमा विजय लिम्बूले बराबरी गरेका हुन् ।

त्यसपछि इटहरीका दिपेन तामाङले खेलको ५६औं र ८३औं मिनेटमा समीर राईले गोल गर्दै राष्ट्रिय जागृतिको जित सुनिश्चित गरे । खेलको म्यान अफ दी म्याच इटहरीका वीरेन्द्र लिम्बू घोषित भए ।

बुधबार हुने अन्तिम सेमिफाइनल खेलमा आयोजक गुहेश्वरी युवा क्लब र पथरी फुटबल क्लबबीच हुने प्रतियोगिताका खेल संयोजक विनय श्रेष्ठले जानकारी दिए । गुहेश्वरी युवा क्लबले आफना दिवंगत सदस्य विशाल खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...