आयोजक एभरेष्ट क्लब क्वार्टरफाइनलमा

चितवन (खेलदैनिक) । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा अन्तिम आठको समीकरण पूरा भएको छ । कूल १६ टिम सहभागी प्रतियोगितामा मंगलबार भएको खेलसँगै ८ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् भने बाँकी ८ टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।

मंगलबारको खेलमा आयोजक एभरेष्ट क्लब चितवन ३–० गोलअन्तरले विजयी भएको छ । आयोजकले नयाँवस्ती फुटबल क्लबलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । पहिलो हाफको १४ औं मिनेटमा एभरेष्टका देव गुरुङले गोल गरी टिमलाई सुरुआती अग्रता दिलाए ।

त्यस्तै कप्तान मिलन गुरुङले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । मिलनले नै दोस्रो हाफको १७औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै ३–० को जित दिलाए ।

म्यान अफ दी म्याच बनेका दोहोरो गोलकर्ता मिलन गुरुङलाई युवा व्यवसायी हिम्मत पुरीले ट्रफी प्रदान गरे । फागुन २ गतेसम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तरगत बुधबार पहिलो क्वार्टरफाइनल खेल बसन्तपुर युनाइटेड क्लब माडी र रामपुर फुटबल क्लब रामपुरबीच हुने आयोजक क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...