कान्छाको ह्याट्रिकसँगै भैरव सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । कान्छा गुरुङले ह्याट्रिक पूरा गरेपछि भैरव स्पोर्टस् क्लब रुपन्देहीमा जारी नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार कञ्चन–४, दियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा भैरवले फर्साटिकर एकेडेमीलाई शून्यकाविरुद्ध ५ गोलले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

भैरवको जितमा कान्छाबाहेक राम थापा र मन्दिप थापाले एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका भैरवका कान्छा गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो क्वाटरफाइनल खेल युनाइटेड कपिलवस्तु र आयोजक हिमालय सामुदायिक विकास केन्द्रबीच हुने आयोजक क्लबका देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोबजारको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । रुपन्देही, कपिलवस्तु नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...