धरान (खेलदैनिक) । शनिबारदेखि शुरु प्रतिष्ठित २० औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब उदघाटन खेलमै संकटा क्लबसँग पराजित हुन पुगेको छ ।
धरान रंगशालामा सम्पन्न उदघा्टन खेलको ७५ औं मिनटमा संकटाका अर्नेस्टले एक मात्र निर्णायक गोल गरेपछि मनाङको यात्रा उदघाटन खेलमै समाप्त भएको हो । निर्णायक गोल गरेका संकटाका अर्नेस्ट म्यान अफ द म्याच समेत घोषित भए । उता जित हात पारेको संकटा भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत माघ २१ गते आइतबारको खेल आयोजक धरान एफसी र दुर्गापुर स्टिल, कोलकाताबीच हुने आयोजकले जनाएको छ ।
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको छ । इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।