बिमल मोहन बगानसँगै अवे म्याचका लागि सिलोङतर्फ प्रस्थान

काठमाडौं (खेलदैनिक) । हालै चर्चित आई लिग क्लब मोहन बगानमा अनुबन्धित नेपालका राष्ट्रिय युवा फुटबलर बिमल घर्ती मगर आई लिग अन्तरगत सिलोङ लाजोङविरुद्ध खेल्ने टोलीमा सामेल भएका छन् । मोहन बगानले हिरो आई लिग अन्तरगत शनिबार सिलोङको सामना गर्दैछ ।

क्लबले बिमललाई आफ्नो चोटिल फरवार्ड सोनी नोर्डेको विकल्पका रुपमा अनुबन्ध गरेको बताईन्छ । सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा हुने उक्त अवे म्याचमा बिमलले क्लबको पहिलो रोजाईमा रहेर खेल्ने सम्भावना छ ।

किरणको टोली मिनर्वा आज भिड्दै

त्यस्तै आई लिगतर्फ आज शुक्रबार अर्को नेपाली राष्ट्रिय फुटबलर तथा नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली मिनर्वा पञ्जाबले चर्चिल ब्रदर्शको सामना गर्दैछ । आई लिगको शिर्ष स्थानमा रहेको मिनर्वाले मंगलबार बलियो इस्ट बंगालसँग २–२ गोलको बराबरी खेलेको थियो ।

उक्त खेलमा कात्सुमी युसाको पेनाल्टी प्रहारलाई बचाउ गर्दै किरणले टोलीको सम्भावित हारलाई टारेका थिए । सोही खेलमा किरण म्यान अफ द म्याच समेत घोषित भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...