उपाधिका लागि मनाङ र थ्रीस्टार भिड्ने

इटहरी (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा मनाङले गरिफा स्र्पोटिङ क्लब, कोलकातालाई ३–० ले हराउँदै थ्रीस्टारसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

बिहीबार इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङका लागि भर्खरै जापानबाट फर्किएका चर्चित फरवार्ड सन्तोष साहुखलले दुई गोल गरे । उनले खेलको ४७ औं र ६७ औं मिनटमा गरी दुई गोल गरे भने थप एक गोल खेलको ७६ औं मिनटमा बिमल रानाले गरे ।

बिहीबारको खेलमा दुई गोल गरेका मनाङका सन्तोष साहुखल म्यान अफ द म्याच घोषित भए । फाइनल प्रवेश गरेको मनाङले अब उपाधिका लागि शनिबार रुस्लान थ्रीस्टारको सामना गर्नेछ । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...