आर्मीलाई हराउँदै रुस्लान थ्रीस्टार फाइनलमा

इटहरी (खेलदनिक) । शानदार लयमा रहेको नेपाली आर्मी क्लबलाई हराउँदै रुस्लान थ्रीस्टार क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डरी स्मृति इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्रीस्टारले आर्मीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस अघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेको थिए । खेलको २५ औं मिनटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता दोस्रो हाफको ५७ औं मिनटमा मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यो जितसँगै थ्रीस्टारले हालै धनगढीमा सम्पन्न खप्तड गोल्डकपको सेमिफाइनलमा आर्मीसँगको हारको बदला समेत लिएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका पिटर सेगुन म्यान अफ म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र गरिफा स्र्पोटिङ क्लब, कोलकाताबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...