आयोजक इटहरी गोल्डकपबाट बाहिरियो, गरिफाको जितमा सिसे निर्णायक

इटहरी (खेलदनिक) । खेलको शुरुवात मै सिसे सोलासले एक मात्र निर्णायक गोल गरेपछि पाहुना टोली गरिफा स्र्पोटिङ क्लब, कोलकाता जारी मदन भण्डरी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा मंगलबार सम्पन्न खेलमा गरिफाले आयोजक राष्ट्रिय जागृति क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको दोस्रो मिनटमै सिसेले पाहुना टोलीका लागि एक मात्र निर्णायक गोल गरे । यो जितसँगै गरिफाले मनाङ मस्र्याङ्दी क्लबसँगको सेमिफाइनल भेट पक्का गरेको छ । मंगलबारको खेलमा आयोजक टोलीका प्रवेश दनुवार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल दुई दावेदार टोली रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...