बिक्रम बानिया छेत्री
आज बिहान सात बजेबाट सुरु हुने भनिएको अधिवेशन सुरुनै नभई एन्फाको पत्रानुसार स्थगन समेत भएको तर सम्पुर्ण क्लबहरुको सहमति पछि अधिवेशन करिब साझ ५ बजे सुरु भएको अधिवेशन निकै तनावको बिच साँझ ७ बजेमात्र सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा एफसी पोतालाका टिका लामा निर्विरोध निर्वाचित भएका छन् ।
आज हेटौँडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । संघको प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् ।
अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, युवराज लामा, अतुल बर्मा, सन्तोष राई र राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बर्तमान अध्यक्ष टिका लामालाई बधाई ज्ञापन गर्दै आफुले सकेको सहयोग गर्ने बताए ।
मकवानपुरको फुटबल विकासमा नयाँ कार्यसमितिको भुमिका महत्वपूर्ण हुने भन्दै उनले कार्यसमितिलाई तिता मिठा कुराहरुलाई भुल्दै फुटबल विकासमा अघि बढन अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष लामाले आफुहरु निवर्तमान अध्यक्षको साथ र सहयोगमा अघि बढने बताए ।
मकवानपुर फुटबललाई विकास गर्नको लागि अधिकतम प्रयास आफुहरुको रहने उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले फुटबल खेल निकै लोकप्रिय रहेको अवस्थामा फुटबल संघको भूमिका पनि निकै महत्वपूर्ण हुने बताए ।