बुटवल (खेलदैनिक) । लिस्नु युवा क्लब रुपन्देहीमा जारी पाँचौं टेन्सबर्ग फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार फर्साटिकर उच्च मा.वि. को खेलमैदानमा सम्पन्न क्वाटरफाइनलमा लिस्नुले सिद्धार्थ क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । यसअघि दुवै टोलीले निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए ।
प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल कपिलवस्तु युनाइटेड र आयोजक फर्साटिकर युवा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ६ गते हुनेछ ।