आर्मी बन्यो खप्तड गोल्डकप च्याम्पियन !

 

धनगढी (खेलदैनिक) । धनगढीमा सम्पन्न दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जित्न सफल भएको छ । सोमबार सम्पन्न फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई टाईब्रेकरमा ५–४ हराउँदै यस बर्ष चौथो उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिताको बिजेता आर्मीले उपाधिससहित नगद ११ लाख ११ हजार १ सय ११ रुपैया हात पारेको छ भने उपबिजेता बनेको एपिएफले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । त्यसैगरी व्यक्तिगत विधातर्फ नेपाल आर्मीका कप्तान भरत खवास उत्कृष्ट खेलाडी घोषित भए । खवासले पुरस्कार स्वरुप एक थान मोटरसाईकल हात पारे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बिकेश कुथु घोषित भए भने उत्कृष्ट रक्षक टोप बिष्ट घोषित भए । त्यसैगरी उत्कृष्ट उत्कृष्ट फरवार्ड सन्तोष तामाङ घोषित भए भने प्रतियोगिताको उदयीमान खेलाडी फारवेस्टका अमानत शेख घोषित भए । उच्च गोलकर्ताको पुरस्कार भने एपिएफका अन्जन बिष्टले हात पारे । व्यक्तिगत विधातर्फका सबै उत्कृष्ट खेलाडीहरुले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे ।

सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा गत पौष २१ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भुटानका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...