पोखरामा जारी दक्षिण एसियाली सेभेन–ए साईड फुटबलमा नक्कली राष्ट्रिय टोली खेलाईएको खुलासा

नक्कली माल्दिभ्स फुटबल टोली ।

काठमाडौं (खेलदैनिक) । पोखरामा जारी १२ औं दक्षिण एसियाली सेभेन–ए साईड फुटबल च्याम्पियनसिपमा माल्दिभ्स र भुटानले आफ्नो सहभागितालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । भुटान एफए र माल्दिभ्स एफएले आफ्नो देशमा कुनै सेभेन–ए साईड फुटबल फेडेरेशन नरहेको साथै कुनै सेभेन–ए साईड राष्ट्रिय फुटबल टोली समेत नरहेको पुष्टी गरेका छन् ।

भुटान एफएका एक पदाधिकारी सोनाम जट्टु भन्छन् “भुटानले त्यहाँ (नेपालमा) फुटबल च्याम्पियनसिप खेलिरहेको थाहा पाउँदा हामी अचम्ममा परेका छौं । यहाँ कुनै भुटान सेभेन–ए साईड राष्ट्रिय फुटबल टोली नरहेको स्पष्ट पार्न चाहन्छौं । हाम्रो यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।”

भुटान र नेपालबीचको खेलको झलक । भुटानी टोलीबाट भारतका स्थानीय खेलाडीहरु खेलेका छन् ।

उता माल्दिभ्स एफएका महासचिव जवज भन्छन् “हामीसँग कुनै मान्यता छैन । यहाँ सेभेन–ए साईड फुटबल एशोसिएशन पनि छैन साथै सेभेन–ए साईड राष्ट्रिय फुटबल टोली पनि छैन । नेपालमा सहभागिता जनाईरहेको माल्दिभ्स सेभेन–ए साईड फुटबल टोेलीसँग माल्दिभ्स एफएको कुनै सम्बन्ध समेत छैन ।”

नेपाल सेभेन–ए साईड फेडेरेशन राष्ट्रिय खेलकुद परिषद्मा दर्ता छ । यद्यपि खेलकुद परिषदलाई पोखरामा जारी प्रतियोगिताबारे कुनै जानकारी छैन । आयोजकले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा राखेपको स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ । तर पोखरामा जारी १२ औं दक्षिण एसियाली सेभेन–ए साईड च्याम्पियनसिपका लागि आयोजकले कुनै स्वीकृति लिएको छैन ।

निलो जर्सीमा नक्कली खेलाडी ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा जारी उक्त प्रतियोगितामा नक्कली टोलीहरुले सहभागिता जनाईरहेको थाहा पाउँदा आफू आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन् ।

उता खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलियासँग यसबारे बुझ्न खोज्दा उनले मन्त्रालयमा सो सम्बन्धी कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाबारे जानकारी नभएको बताए । थपलिया भन्छन् “हामीलाई यसबारे केही थाहा छैन । यसबारे राष्ट्रिय खेलकुद परिषद् वा एन्फालाई सोध्नुपर्छ । आवश्यक परे खेलकुद मन्त्रालयले यसबारे आवश्यक कदम चाल्न तयार छ ।”

त्यस्तै सेभेन–ए साईड एन्फा मातहतमा नरहने भएकाले यसबारे एन्फा भने जिम्मेवार छैन । त्यसैगरी नेपाल सेभेन–ए साईड फुटबल फेडेरेशनका सचिव डि.बी. नेपालीसँग सम्पर्क गर्न खोज्दा उनले अध्यक्ष नविन पुनलाई फोन दिएका थिए । पुन यस घट्नाबारे आफू जानकार नरहेको बताए ।

पुन भन्छन् “दक्षिण एसियाली सेभेन–ए साईड फुटबल फेडेरेशनले यो प्रतियोगिता आयोजना गरेको हो । हामीले पोखरामा प्रतियोगिताको व्यवस्थापन मात्र गरेका हौं । हामीलाई सहभागी टोलीहरु सक्कली नै रहेको बताइएको थियो । यदि खेलाडीहरु सम्बन्धित देशका होईनन् भने यसबारे म केही भन्न सक्दिन ।”

त्यस्तै उता स्रोतका अनुसार प्रतियोगितामा सहभागि भुटान, माल्दिभ्सजस्ता टोलीहरुमा भारतीय खेलाडीहरु सहभागि रहेको बताइएको छ । माल्दिभ्स एफएका एक पदाधिकारी भन्छन् “माल्दिभ्सको टोलीमा एउटै माल्दिभ्सको खेलाडीलाई नदेख्दा स्तब्ध भएको छु । नेपाल खेलकुद मन्त्रालयले यसबारे छानबिन गर्नुपर्छ ।”

यो घट्ना बाहिर आएसँगै नेपालमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् आफ्नो काम कारवाही कसरी सञ्चालन गर्दैछ भन्ने कुरा छर्लङ्ग भएको छ । नेपाली खेलकुदमा बिशेष गरी फुटबलमा मनपरीतन्त्रको एउटा बलियो उदाहरण बन्न पुगेको छ यो घट्ना ।


प्रतिक्रिया दिनुहोस

Loading...