नवलपरासी फुटबल संघमा अर्को विवाद, साधारणसभा सम्पन्न तर केन्द्रिय प्रतिनिधीलाई पत्तो छैन

काठमाडौं (खेलदैनिक) । एन्फा मातहतका विभिन्न जिल्ला फुटबल संघको चुनावमा विवाद चर्किएको खबर सेलाउन नपाउँदै नवलरासीमा भने केही फरक घट्ना हुन पुगेको छ । 

नवलपरासी जिल्ला फुटबल संघको नेतृत्व गरिरहेका प्रकाश पंगेनीले केन्द्रिय प्रतिनिधिलाई कुनै जानकारी नै नदिई साधारणसभा सम्पन्न गरेका छन् । जिल्ला फुटबल संघको चुनावका लागि केन्द्रिय प्रतिनिधीका रुपमा रमेश रायमाझी कार्यक्रम स्थलमा निश्चित समयभित्रै पुगे तापनि उनी पुग्दा कार्यक्रम स्थलमा कोही नभएको तथ्य बाहिर आएको छ ।

उता बिगत १३ बर्षदेखि नवलपरासी जिल्ला फुटबल संघको नेतृत्व सम्हालीरहेका पंगेनीले सामाजिक सञ्जालमार्फत साधारणसभा सम्पन्न भएको जानकारी गराएका थिए । केन्द्रिय प्रतिनिधि रायमाझीले जिल्लाको नेतृत्व पक्षको यस्तो कार्यशैलीप्रति नै प्रश्न उठाएका छन् ।

त्यसैगरी साधारणसभा जिल्लाका १४ क्ल्बहरुलाई सहभागिताबाट बञ्चित समेत गराइएको थियो । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सञ्जिव मिश्रले आफूहरु रायमाझीबाट बिस्तृत रिपोर्टको पर्खाईमा रहेको प्रतिक्रिया दिए ।

उता मनकामना युवा क्लबका अध्यक्ष धन बहादुर गुरुङले फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले एन्फा उपाध्यक्ष मणि कुँवरको निर्देशनमा काम गरिरहेको बताए । गुरुङले भने “हामीले केन्द्रिय एन्फा र जिल्ला प्रशासन कार्यालयमा यसबारे छानबिन गर्न निवेदन दिएका छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...