विश्वकप ट्रफी यसपटक नेपाल नआउने !

एजेन्सी । यसै बर्ष रुसमा शुरु हुन गईरहेको बहुप्रतिक्षित फिफा विश्वकप फुटबल प्रतियोगिताको ट्रफी यसपटक नेपाल नल्याईने भएको छ । विश्वविख्यात चिसो पेय उत्पादक कम्पनी कोका–कोला नेपालले यसपटक विश्वकप ट्रफी नेपालमा ल्याउने कुनै योजना नबनाएको हो ।

यसअघि सन् २००६ को जर्मनी विश्वकपमा फिफा र कोका–कोलाको सहकार्यमा विश्वकपको सक्कली ट्रफी प्रतियोगिता शुरु हुनुअघि विश्वभर आम सर्वसाधारणका माझ पुराइएको थियो । जर्मनी विश्वकपलाई विश्व माझ प्रवद्र्धन गर्न त्यतिबेला विश्वकप ट्रफीलाई विश्व भ्रमण गराईंदा यसले आयोजक र प्रतियोगिता दुवैलाई फाईदा पुगेको थियो ।

सन् २००६ पश्चात विश्वकपको हरेक संस्करणमा उक्त ट्रफीलाई विश्व भ्रमणमा पुराईन्छ र संसारका नयाँ–नयाँ शहरहरुमा नयाँ–नयाँ फुटबल समर्थकहरु माझ साक्षात्कार गराईदै आइएको छ । विश्वकप ट्रफीलाई नजिकबाट हेर्नु, सँगै फोटो खिचाउनु पनि एउटा सौभाग्यको कुरा हो । एउटा आम फुटबल समर्थकका लागि यसले एउटा विशेष अनुभुति दिने गर्दछ ।

यसअघि यो विश्वकप ट्रफी स्वीटरल्याण्डको ज्युरिचमा रहेको फिफा वल्र्ड फुटबल म्युजियम, अनि विश्वकपको फाइनल ड्र का बेला तथा विश्वकपको फाइनलमा बेला मात्र हेर्न पाइन्थ्यो, त्यो पनि टाढैबाट ।

यसअघि सन् २०१४ को फिफा विश्वकपसम्म उक्त ट्रफीलाई २६७ दिनमा ९० देशहरुमा पुराइएको थियो । त्यतिबेला करिब १३ लाख फुटबल समर्थकहरुले यसलाई नजिकबाट नियाल्ने र सँगै फोटो खिचाउने अवसर पाएका थिए । यद्यपि उक्त ट्रफीलाई साविक विजेता र राष्ट्र प्रमुख बाहेक अरु कसैले छुन पाउँदैनन् । गत संस्करण उक्त ट्रफी नेपाल ल्याईदा दशरथ स्टेडियममा त्यसलाई तत्कालिन नेपालका राष्ट्रपति रामवरण यादवले छुन र उठाउन पाएका थिए ।

यसपटक उक्त ट्रफी नेपाल नआए तापनि ट्रफीले ६ महादेशका करिब ५० देशहरुको भ्रमण गर्दै फिफा विश्वकपको आयोजक राष्ट्र रसियामा पुगेर उक्त विश्व भ्रमण समापन हुनेछ ।

(स्रोत फिफा)
(तस्विर गुगल)


प्रतिक्रिया दिनुहोस

Loading...