भक्तपुर जिल्ला फुटबल संघमा पनि चर्कियो विवाद

भक्तपुर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतमा रहेको जिल्ला फुटबल संघहरुको निर्वाचन शुरु भए लगतै एक पछि अर्को फुटबल संघहरुमा विवाद चुलिएको खबर आइरहेका छन् । यहि विवादको सूचीमा थपिएको भक्तपुर जिल्ला फुटबल संघ । 

खबरअनुसार भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिग खेलेको कतिपय क्लबहरुलाई निर्वाचनबारे कुनै जानकारी नदिएको बताइएको छ । फुटबल संघको अध्यक्षमा विगत १५ बर्षदेखि गौतम सुजाखु छन् । उनी फिफाद्वारा प्रतिबन्धित एन्फाका पूर्व अध्यक्ष गणेश थापाको निकट मानिन्छन् ।

जिल्ला लिग विजेता समेत रहेको क्लबका पूर्व राष्ट्रिय खेलाडी असिम जंग कार्कीका अनुसार फुटबल संघले साधारण सभाबारे आफूहरुलाई कुनै जानकारी नदिएको बताए । कार्कीले भने “यो कुराले हामी अचम्ममा परेका छौं । यसबारे हामीले एन्फामा निवेदन समेत दिएका छौं । एन्फाले अहिलेसम्म कुनै निर्णय लिएको छैन ।”

यसबारे एन्फाका प्रवक्ता सञ्जिव मिश्रसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । पूर्व राष्ट्रिय फुटबलर कार्कीले फुटबल संघमाथि आक्रोश समेत पोखे । कार्की भन्छन् “बिगत १५ बर्षदेखि भक्तपुर जिल्ला फुटबल संघको नेतृत्वमा रहेर पनि सुजाखुले जिल्लाको फुटबल विकासमा केही गरेका छैनन् । हामी भक्तपुर जिल्लाको फुटबल विकासमा योगदान दिने व्यक्तिको नेतृत्व चाहन्छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...