एन्फालाई सत्र क्लबहरुको ध्यानाकर्षण पत्र

हेटौडा (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघको साधरणसभा तथा अधिवेशनमा सहभागी हुन नपाउने भनिएका जिल्लाका १७ वटा फुटबल क्लबहरुले एन्फालाई ध्यानाकर्षण पत्र पत्र बुझाएका छन् ।

क्लबहरुले जिल्ला खेलकुद विकास समिति मकवानपुरमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही पुष २७ गते हुन लागेको जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनमा ९ वटा क्लवले मात्रै सहभागिता जनाउन पाउने भएपछि फुटबल संघमा विवाद सुरु भएको छ ।

फुटबल संघको विधान अनुसार कम्तिमा दुई पटक लिग खेलेका क्लवले साधारणभसामा सहभागी र मताधिकार प्रयोग गर्न पाउने भएपनि अवैज्ञानिक र सुनियोजित रुपमा निर्देशिकाको नाममा १७ वटा फुटबल क्लवलाई अवमुल्ययन गरिएको आरोप लगाइएको छ ।

फुटबल संघका कार्यसमिति सदस्य समेत रहेका चौघडा फुटबल टिम र ७ नम्बर फुटबल टिमका सचिव ज्ञानु चौलागाइँ क्षेत्रीले विधान अनुसार १७ फुटबल टिम साधारणसभामा सहभागी हुन सक्षम हुँदाहुँदै पनि निर्देशिकाको नाममा बञ्चित गर्न खोजिएको बताए ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले आफुहरुले पीडित क्लबको प्रतिनिनिको कुरा सम्वन्धित निकायमा राखेर समस्याको समाधान गर्न प्रयत्न गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...