मकवानपुर फुटबल संघमा विवाद चर्कियो

हेटौडा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को अधिवेशन तथा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभा नजिकिँदै जाँदा फुटबल संघ मकवानपुरमा विवाद सुरु भएको छ ।

यही पुष २७ गतेको लागि तोकिएको जिल्ला फुटबल संघको साधारणसभामा सहभागी हुनको लागि ९ वटा क्लव मात्रै योग्य भएको जानकारी दिइएको भन्दै १७ वटा फुटबल क्लवले त्यसको बिरोध गरेका छन् । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै १७ क्लवका प्रतिनिधि भनिएको ८ वटा क्लवका अध्यक्ष एवम् प्रतिनिधिले आफूहरुलाई साधारणसभामा सहभागी नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

एन्फाले सेटिङमा आफू अनुकुलको कार्यविधि बनाएको र फुटबल संघले समेत बोर्डमा रहेका पदाधिकारीको क्लवलाई मात्रै मान्यता दिएको भन्दै उनीहरुले बिरोध गरेका हुन् । फुटबल संघ मकवानपुरका कार्यसमिति सदस्य समेत रहेका चौघडा फुटबल टिम र ७ नम्बर फुटबल टिमका सचिव ज्ञानु चौलागाइँ क्षेत्रीले लगातार जिल्ला लिगमा सहभागी हुँदै आएको दुईवटै क्लवलाई साधारणसभाको लागि योग्य नमानिएको भन्दै आपत्ति जनाए ।

‘२०७० सालको जिल्ला अधिवेशनमा सहभागी भएको हुनुपर्ने भन्ने कार्यविधिमा उल्लेख गरेर हामीलाई बायस गर्न खोजिएको छ’, उनले भने, ‘२०७० को साधारणसभा तथा अधिवेशन कहाँ भयो ? कहिले भयो ? कतिवटा क्लवलाई चिठी काटेर बोलाइयो ? हामीलाई त्यसको जानकारी दिनुपर्यो ।’

एन्फा र फुटबल संघले आफूलाई सहज हुने गरी विधान र निर्देशिका बनाएको उनको आरोप छ । यस्तै मल्टिभिजन क्लवका अध्यक्ष विकेशलाल श्रेष्ठले बोर्डमा रहेका केही व्यक्तिको क्लवलाई मात्रै साधारणसभाको लागि योग्य घोषणा गरिएको भन्दै केही व्यक्तिले लामो समयदेखि एकाधिकार कायम राख्दै आएको आरोप लगाए ।

‘क्लव नवीकरण शुल्क भन्दै फुटबल संघले २/२ हजार लिँदै आएको छ । हामी कसरी अयोग्य भयौँ ? केही दिन अघि मात्रै विशेष साधारणसभा बोलाएर आफू अनुकुलको निर्देशिका बनाइएको छ’, श्रेष्ठले भने, ‘लगातार जिल्ला लिग खेल्दै आएको १७ वटा क्लवलाई साधारणसभामा प्रवेश गर्न नदिने यो कहाँको नियम हो ? फुटबल संघको अध्यक्ष राजेन्द्र श्रेष्ठको कुन क्लव हो ? त्यो क्लवले कति पटक जिल्ला लिग खेल्यो ? अध्यक्ष श्रेष्ठ साधारणसभामा बस्न पाउने कि नपाउने ?’ फुटबल संघ मकवानपुरमा एकतन्त्रीय शासन र ज्यादती देखिएको भन्दै उनले यसको बिरोधमा १७ वटा क्लव लागेको बताए ।

यस्तै प्रतिभा क्लवका अध्यक्ष लवराज ठकुरीले केन्द्रबाटै सेटिङ मिलाएर आफू अनुकुलको निर्देशिका ल्याइएको आरोप लगाए । ‘अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय अतुल बर्मा र अभिषेक थापासहित केही पदाधिकारी साधारणसभामा कसरी सहभागी हुन्छन् ? फुटबल संघले आयव्यय प्रतिवेदन र प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्दैन ?’, उनले भने, ‘साधारणसभाको ७ दिन अघि नियमित जिल्ला लिग खेलिरहेका क्लवलाई पत्र काट्नुपर्नेमा त्यो अवस्था नदेखेपछि बाध्य भएर पत्रकार सम्मेलन गरेका हौँ । हामीलाई सहभागी नगराएर कसरी साधारणसभा हुँदो रहेछ हेरौँ त ।’

अहिलेको अधिवेशनमा बन्देज लगाएर बाँकी १७ क्लवलाई ४ पछिको अधिवेशनमा समेत रोक्ने षड्यन्त्र अहिलेको पदाधिकारीले गर्न खोजेको ठकुरीको आरोप छ । पत्रकार सम्मेलनमा चौघडा फुटबल टिम, ७ नम्बर फुटबल क्लव, मल्टिभिजन, प्रतिभा क्लवसहित नवमिलन युवा क्लव, बिहानी क्लव, एफसी नामटार र गोर्खा ब्वाइज क्लवका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

यस्तै सक्षम युवा क्लव, युनाइटेड नाइन, मकवानपुर सिटी युनाइटेड, गोल्डेन युवा क्लव, सृजनशील युवा क्लवलगायतको क्लवले एक्येबद्धता रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...