नौ क्लबहरुलाई जानकारी नदिएको भन्दै महोत्तरी जिल्ला फुटबल संघको निर्वाचनमा चर्कियो विवाद

महोत्तरी (खेलदैनिक) । जिल्ला लिग खेलेका नौ क्लबहरुलाई साधारण सभामा आमन्त्रण नगरेपछि जिल्ला फुटबल संघ महोत्तरीको निर्वाचनमा थप विवाद चुलिएको खबर सार्वजनिक भएको छ । बुधबार जलेश्वरमा सम्पन्न सभाले हालै एन्फा प्रशिक्षकबाट राजिनामा दिएका प्रमोद मानन्धर अध्यक्ष पदमा निर्वाचित गरेको थियो । 

महोत्तरीको जनसेवा क्लबका अध्यक्ष जय लामाले जिल्ला फुटबल संघको कार्यप्रति आश्चर्य व्यक्त गरेका छन् । लामा भन्छन् “जिल्ला लिग खेलेका नौ क्लबहरुलाई निम्तो पनि दिइएन । जिल्ला फुटबल संघले केन्द्रमा नक्कली क्लबहरुको नामावली पेश गरेको छ । के तपाईं यो सब विश्वास गर्न सक्नुहुन्छ ? यो त दिनदहाडै लुट भयो । हामीले केन्द्रलाई यसबारे जानकारी दिएका छौं । हामी न्यायका लागि अदालत जान तयार छौं ।”

सभामा केन्द्रिय प्रतिनिधिका रुपमा रौतहट जिल्ला फुटबल संघका नेपाल कार्की उपस्थित थिए । कार्कीसँग सम्पर्क गरेर बुझ्न खोज्दा उनले भने “सभामा केही विवाद देखिएको थियो । केही पदाधिकारीहरुले आफूलाई जानकारी नदिएको बताएका थिए । हामी यसबारे भोली कुरा गर्नेछौं ।”

उता जय लामा भने आफूहरु हार नमान्ने बताउँछन् । लामा भन्छन् “जिल्ला फुटबल संघले हामीलाई उक्त सभाका लागि कुनै आधिकारिक पत्र पठाएको छैन । हामी हार मान्ने छैनौं । न्यायका लागि लडन् तयार छौं ।”

त्यस्तै केन्द्रिय प्रतिनिधि कार्कीका अनुसार जिल्ला फुटबल संघले यसबारे स्थानय पत्रिकामा सूचना प्रकाशित गरेको बताएका छन् । एन्फाको विधानअनुसार जिल्ला फुटबल संघले निर्वाचनका लागि जिल्लामा आवद्ध सबै क्लबहरुलाई अनिवार्य रुपमा लिखित जानकारी गराउनुपर्ने प्रावधान छ ।

उता केन्द्रिय एन्फाका प्रवक्ता सञ्जिव मिश्रसँग यसबारे बुझ्न खोज्दा उनले एन्फामा उपलब्ध अभिलेखअनुसार नै निर्वाचन सम्पन्न भएको बताए ।

त्यस्तै जय लामाले भने महोत्तरी जिल्ला फुटबल संघले केन्द्रमा नक्कली क्लबहरुको नामावली पठाएको ठोकुवा गरे । लामाले भने “केन्द्रिय प्रतिनिधिले नक्कली क्लबहरुबारे राम्रोसँग छानबिन गर्नुपर्ने थियो ।”

महोत्तरी जिल्ला फुटबल संघको विवाद यसपटक नयाँ विवाद भने होईन । यसअघि हालै सम्पन्न पाल्पा जिल्ला फुटबल संघको निर्वाचनमा पनि विवाद चुलिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...