आयोजकलाई हराउँदै देशभक्त फाइनलमा

बुटवल (खेलदैनिक) । आयोजक जनज्योति क्लबलाई हराउँदै देशभक्त युवा क्लब, नवलपरासी बुटवलमा जारी प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तथा रोमाञ्चक पहिलो सेमिफाइनलमा देशभक्तले आयोजक जनज्योतिको चुनौति २–१ ले पन्छाउँदै उपाधि नजिक पुगेको हो । खेलमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा आयोजक पराजित हुन पुग्यो ।

खेलको २६ औं मिनटमा सजिन थापा मगरले गोल गर्दै आयोजकलाई शुरुवाती अग्रता दिलाएका थिए । तर लगतै २९ औं मिनटमा देशभक्तका लागि सुरज हमालले बराबरी गोल फर्काए । उता खेलको अन्तिमतिर ७५ औं मिनटमा देशभक्तका लागि विश्वास श्रेष्ठले डि बक्स नजिकैबाट निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुराए ।

खेलमा आयोजकका मनोज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल नारायणगढ एफसी, चितवन र भैरव स्पोर्टस् क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै काठमाडौं स्टिलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल पौष १५ गते शनिबार हुने खेल संयोजक जहर रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...