सिद्धार्थलाई हराउँदै देशभक्त सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । देशभक्त युवा क्लब, नवलपरासी बुटवलमा जारी प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल देशभक्तले सिद्धार्थ एफसीलाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्यो । देशभक्तको जितमा लक्ष्मण रुचाल र नविन महतोले एक–एक गोल गरे । त्यस्तै थप एक गोल भने सिद्धार्थका आशिष गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा सिद्धार्थका रेजिन सुब्बा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल न्यू सिर्जना युवा क्लब, करौजिया र भैरव स्पोर्टस् क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै काठमाडौं स्टिलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल पौष १५ गते शनिबार हुने खेल संयोजक जहर रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...