मल्पी कप फुटबलमा एलएको विजयी सुरुआत

मल्पी कप अन्तरकलेज छात्र फुटबलमा मल्पी र केयू सिटी (रातो) का खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । लिटिल एन्जल्स (एलए) कलेजले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको खेलमा एलएले अरुणिमालाई १–० गोलले पराजित गर्यो । बिजयी टोलीका लागि प्रज्ज्वल पुनले निर्णायक गोल गरे । अर्को खेलमा गीताञ्जलीले सान्त्वनालाई २–० गोलले हरायो । गीताञ्जलीका लागि मनीष लम्साल र आशिष तामाङले १–१ गोल गरे ।

अन्य खेलमा आयोजक मल्पी इन्स्टिच्यूट र डिएभीले बराबरी खेले । मल्पीले केयू सिटीसंग २–२ तथा डिएभीले साइपाल एकेडेमीसंग १–१ को बराबरी खेलेका हुन् ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक निर्देशक तेकेडा छियाकी र राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । लिग कम नकआउट पद्धतिमा हुने प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...