सहारा क्लवलाई संगम कपको उपाधि

उपाधिका साथ सहाराका खेलाडीहरु । (तस्विर उमेश पुन / खेलदैनिक)

पोखरा (खेलदैनिक) । पोखराको सहारा क्लवले छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को उपाधि जित्न सफल भएको छ । पोखरा रंगशालामा शुक्रवार भएको फाईनल खेलमा सहाराले बाजापाटन (बी) थटीनको समुहलाई सडेन डेथमा पन्छाउदै उपाधि हात पार्न सफल भएको हो ।

निर्धारित समयका खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको खेलमा पनि दुबै तर्फ ४–४ गोलले खेल बराबरीमा टुंगिएको थियो । त्यसपछि निर्णायकको अन्तिम विकल्प खेल सडेन डेथबाट टुंगो लागेको हो । टाईब्रेकरको सडेन डेथमा ९–८ को गोल अन्तरले सहाराले जित हासिल गर्न सफल भयो । खेलमा म्यान अफ दी म्याच सहाराका त्रिदेव गुरुङ घोषित भए ।

विजेता टिम सहाराले उपाधि सहित एक लाख २५ हजार साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । दोश्रो भएको बी थटीनले ६५ हजारको साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा सहाराका हेमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा बि थटिनका गोलरक्षक दिलिप क्षेत्री घोषित भए भने उत्कृष्ट फरवार्डमा सहाराका विजय श्रेष्ठ, उत्कृष्ट डिफेन्डरमा बी थटिनका हरी गुरुङ, सर्वाधिक गोलकर्ताको उपाधि सहाराका पियुस ह्याड्रिले पाए । उनले र बी थटिनका अब्बाले प्रतियोगितामा ४–४ गोल गरे पनि कम समय खेलेर ४ गोल पुराएका सहाराका ह्याड्रियलाई आयोजकले उक्त उपाधि दिएको हो ।

भद्रकालिको समुह भने प्रतियोगिताकै अनुसासित टिम घोषित भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५–५ हजार पुरस्कार प्रदान गरिएको हो ।

विजयी खेलाडीहरुलाई कास्कीका सांसद मन बहादुर गुरुङ, क्षेत्रिय फुटवल संघका अध्यक्ष खेम बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दर्शन लामा, क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष एवं क्लवका बरिष्ठ सल्लाहकार सुनिल गुरुङ, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुङ, श्री गणेश तथा भद्रकाली सेवा समितिका अध्यक्ष टिका बहादुर कार्की, पर्यटन व्यावसायी मदन केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुष १ गते देखि संचालन भएको उक्त प्रतियोगितामा एपिएफ सहितका २३ टिमको सहभागिता रहेकोे थियो । यस अघि क्लवले सेभेन ए सार्यड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखी पूर्ण रुपमा फुटवल प्रतियोगिता नै आयोजना गरेको हो । फुटवल खेलको विकासको लागि फुटवल आयोजना गरिएको क्लवका अध्यक्ष मायाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...