पिएफए अत्तरीया उपाधि नजिक

म्यान अफ द म्याच अवार्ड ग्रहण गर्दै पिएफए अत्तरीयाका विश्व अधिकारी ।

धनगढी (खेलदैनिक) । पिएफए अत्तरीया तेस्रो ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको फाईनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार सम्पन्न पहिलो सेमिफाईनलमा सुदुरपश्चिम ११ लाई १–० ले हराउँदै पिएफए उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा खेलमा पिएफएका लागि खेलको २६ औं मिनटमा मणिराम चौधरीले निर्णायक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिएफए अत्तरीयाका विश्व अधिकारी म्यान अफ द म्याच भए ।

निकै प्रतिस्पर्धात्मक खेलमा जित हात पारेको खुशी व्यक्त गर्दै पिएफए अत्तरीयाका प्रशिक्षक सन्तोष भट्टले अव उपाधि जित्ने दावी गरे । सुदुरपश्चिम ११ का प्रशिक्षक ललीत चन्दले भाग्यले साथ नदिएका कारण सजिलै गोल गर्न सकिने मौकाहरु चुकेकोले हार व्यहोरेको वताए ।

मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा बिहीबार आयोजक फारवेष्ट पशुपति युवा क्लव र न्यु वुद्ध युवा क्लव फुलवारीले प्रतिस्पर्धा गर्नेछन ।

झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख प्राप्त गर्नेछन । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०÷१० हजारका दरले नगद पुरस्कार पाउनेछन ।

प्रतियोगिताको फाईनल पुस ८ गते शनिवार धनगढी रंगशालामा हुने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेलम रावतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...