अमृतको निर्णायक गोलसँगै सिद्धार्थ क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । सिद्धार्थ फुटबल क्लब, चपरहट्टी प्रथम जनज्योति कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार डिङ्गरनगरस्थित क्लबको मैदानमा सम्पन्न खेलमा सिद्धार्थले झरना स्पोर्टस् क्लब, कुञ्जलापुरलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । सिद्धार्थको जितमा दोस्रो हाफको ४८ औं मिनटमा अमृत गुरुङ्गले डि–बक्सभित्रबाट सुन्दर गोल गरे । जुन खेलको निर्णायक गोल समेत बन्न पुग्यो ।

मंगलबारको खेलमा पराजित झरनाका गौरव मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको खेल नारायणगढ एफसी, चितवन र राप्ती युनाइटेड, दाङबीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही, नवलपरासी, दाङ र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

त्यस्तै काठमाडौं स्टिलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल पौष १५ गते शनिबार हुने खेल संयोजक जहर रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...