लिग आयोजनाबारे एन्फाविरुद्ध किन बोल्दैनन् कोही ?

काठमाडौं (खेलदैनिक) । नेपाली खेलकुदमा आफ्नो छुट्टै पहिचान र लोकप्रियता बोकेको फुटबल खेलप्रति अहिले आएर कसैले पनि वास्ता गर्न छोडेको आभास हुन थालेको छ ।

बिगत दुई बर्षदेखि नेपाली फुटबलको मेरुदण्ड मानिएको राष्ट्रिय लिग हुन सकेको छैन । यसबारे नेपाली फुटबलको नियमनकारी संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ठोस जवाफ पनि छैन वा दिन चाहँदैन ।

निश्चित समय सिमाभित्र किन लिग गराउन नसकेको हो ? तयसबारे नेपालभरीका ए, बी र सी डिभिजनका क्लब तथा खेलाडीहरुले एन्फाविरुद्ध किन केही बोल्न नसकेको हो ? त्यो पनि बुझ्न सकिएको छैन ।

फुटबल खेलाडीहरुको हक अधिकारबारे आवाज उठाउन कै लागि भनेर फुटबल सम्बद्ध केही क्रियाशील संघसंस्थाहरु पनि छन् । तर उनीहरु पनि फुटबल खेलाडीहरुको मागबारे आवश्यक पहल गर्न सकिरहेका छैनन् ।

यहाँ रेफ्री एशोसिएसन छन्, प्रशिक्षक एशोसिएसन छन्, महिला फुटबल एशोसिएसन छन् तर उनीहरु फुटबल खेलाडीहरुको हक अधिकारबारे बोल्नुको साटो गुमानम सरह एक सिमित कोठाभित्र थन्किएर बसेका छन् ।

मुलुकमा केही यस्ता ठूलो सञ्चारमाध्यमहरु छन्, जो फुटबल सम्बन्धी यस्ता गतिविधीहरुलाई मुख्य समाचारका रुपमा आम जनमानससामू पुर्याउन सक्दैनन् वा चाहन्न् ।

रह्यो नेपाल सरकारको कुरा । जसलाई खेलकुदको सामान्य जानकारी छैन् र जसले खेलकुदको महत्व बुझ्न सकिरहेका छैनन्, त्यस्ताबाट हामी के आश गर्न सक्छौं ? यदि सरकार वास्तवमै नेपाली फुटबलप्रति गम्भिर हुन्थ्यो भने अहिलेसम्म एन्फालाई निश्चित समयमै लिग गराउन दबाब पक्कै पनि दिन्थ्यो होला ।

अहिले देशमा कम्तिमा पनि पाँचसय भन्दा बढी फुटबल खेलाडीहरु बेरोजगार छन् । दुई बर्षयता तीस भन्दा बढी खेलाडीहरु सुरक्षित भविष्यका लागि विदेशिन बाध्य भईसकेका छन् ।

नेपाली फुटबलको यो गिर्दो अवस्थाबारे एएफसी र फिफा पनि गम्भिर छैन । होस पनि कसरी ? उनीहरु त मलेसिया र स्वीजरल्याण्डमा रहेका आफ्नो मुख्यालयमा वातानुकुलीत कक्षमा डलरसँगै आरामले रमाइरहेका छन् ।

राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एन्फाबाट सेवा सुविधा पाइरहेका छन् । कम से कम उनीहरुले एन्फालाई राष्ट्रिय लिग आयोजनाबारे दबाद दिनुपर्ने हो, तर त्यो पनि हुन सकेको छैन ।

कर्ण लिम्बु, निराजन खड्का जस्ता केही राष्ट्रियस्तरका फुटबलरहरु छन्, जो एन्फालाई लिगको महत्वबारे ध्यानाकर्षण गराउँदै र फुटबल गतिबिधीलाई नियमित गर्न समय–समयमा झकझकाउने गर्दछन् । तर औंलामा गन्न सकिने यस्ता खेलाडीहरुको आवाज सुन्ने कसले ? बुझ्ने कसले ?

के तपाईंलाई नेपाली खेलाडीहरुको सुनिश्चित भविष्यका लागि नेपाल सरकार र एन्फाले केही ठोस कदम चाल्नुपर्छ जस्तो लाग्दैन ? क्लबहरुलाई आर्थिक र प्राविधिक रुपमा पनि सक्षम बनाउने जिम्मेवारी एन्फा र सम्बन्धित निकायको हो । तर यसबारे क्लब पनि गैरजिम्मेवार हुनुहुँदैन । उनीहरुले पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारी गम्भिरताका साथ पूरा गर्नुपर्दछ ।

नेपाली फुटबलमा केही यस्ता ए डिभिजन क्लबहरु पनि छन्, जसलाई राष्ट्रिय लिग आयोजना नभएर खुशी छन् । त्यस्ता क्लबहरको नजरमा लिग नभएपछि आर्थिक व्यवभार पनि कम हुने बुझाई छ ।

देशमा प्रर्याप्त खेल मैदान र मिनी स्टेडियम हुँदा हुँदै पनि एन्फाले नियमित लिग आयोजना गर्न नखोज्नु वा नसक्नु आफैमा लाजमर्दो र आश्चर्य छ ।

यति हुँदा हुँदै पनि यदि नेपालका फुटबल खेलाडीहरु, क्लबहरु, प्रशिक्षकहरु र फुटबलसँग सम्बन्धित संघसंस्थाहरुले राष्ट्रिय लिग निश्चित समय मै नियमित सञ्चालन गर्न एन्फा र सरकारलाई दबाब दिन सके सम्बन्धित निकायले पक्कै पनि लिग आयोजनाका लागि आवश्यक कदम चाल्नेछन् ।

तर दुःखको कुरा आफ्नो स्वार्थ गुम्ने डरले यी कसैले पनि एन्फाविरुद्ध आवाज उठाउन खोज्दैनन् वा सक्दैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...